Correspondent, ParbatNepal
7 years ago
2290
लेखक – विष्णुप्रसाद शर्मा पराजुली
भूगोल, संस्कृति, धर्म र इतिहासलाई बैज्ञानिक रुपमा अध्ययन गरेर त्यसलाई जोडन सके प्राकृतिक सुन्दरता र विविधतामाझैँ नेपाल इतिहासमा पनि अब्बल हुने छ । नेपालका विश्वविद्यालयको पहलमा राजा सुद्धोधनभन्दा पहिले, नारी प्रधानता भएको समय र सत्य युग भनेर बुझिएको मानब समाज तथा त्यसभन्दा पहिलेको युगसम्मको इतिहासको अनुसन्धान हुन सक्छ । नेपालको जुन क्षेत्रमा पुग्यो त्यहाँको संस्कृति, प्रकृति, इतिहास र सुन्दरताले मलाई आकुल ब्याकुल पार्छ र मलाई बाटो बिराएर यस्ता कुरा सोच्न बाध्य पार्छ । जसबारे मैले केहि गर्न सक्दिन । यस पटक अन्नपुर्ण आधार शिविर, खोप्रा, खयर भारानी ताल, सोता, पुन हिल, मोहोरे डाँडा, जलजला, लेस्पार हुदै पर्वतको पातीचौर झर्दा मलाई त्यस्तै कुराले पहिले अन्यत्रको यात्रामाझैँ झकझकायो ।
खोप्रा डाडा अन्तरगत उच्च हिमाली क्षेत्रमा अन्नपूर्ण दक्षिणको पश्चिम काखमा रहेको खयर भारानी देवी मन्दिर र खयर भारानी ताल ९४६०० मि।०मा पुगे
पछि हाम्रो पदयात्राको मुल खण्ड पुरा भएको थियो । त्यसपछि नयाँ पदमार्ग पछ्याउदै सोता, मोहोरे डाँडा हुदै पर्वतको लेस्पार गाउँ झरेर फर्कने योजनामा थियौँ । यसपटक हिउँ नपरेको हुनाले बाटो चिप्लो भएन । हिउँ वा पानी परेको बेला खोप्राको बाटो चिप्लो हुन्छ । त्यस्तोमा चिप्ल्यो भने नाङ्गो अग्लो भीरमा बल्ड्याङ खादै ७–८ सय
फिट तल खदारिन बेर लाग्दैन । त्यस्तोमा कुनाको भागतिर चेपिएर बिस्तारै पाइला सार्नु पर्छ । यात्राको नवौं दिन खोप्राबाट सोता हुदै घोडेपानीको लागि पाइला चाल्यौँ ।
त्यो दिन, सुर्योदयका सुनौला किरणले स्पर्श गर्नुभन्दा पहिलेदेखि सुर्यास्तसम्म बादलको एउटा बाक्लो फुर्कोले अन्नपूर्ण दक्षिणलाई पछाडिबाट अँगालो हालिनै रह्यो । मानौं एउटा प्रेमीले चुम्बन गर्नकालागि प्रेमिकाको स्वीकृति पर्खिरहेको होस । बिहान खोप्राको पुर्वीधारबाट देखिएको त्यो दृश्य हामी घोडेपानी पुगेर साँझ बास बस्दासम्म रहिरह्यो–मात्र वादलको रुप फेरिएको थियो । त्यो बिहान ३ हजार ६०० मिटरको उचाईबाट झरेर १ हजार ६०० को उचाईमा पुग्यौँ र त्यसपछि अपरान्हमा फेरि लगभग २ हजार ९००को उचाई चढेर घोडेपानीमा पुगेर बासबस्यौँ । त्यसको अर्थ हामी खोप्रा पहाडको टुप्पोबाट ठाडै ओरालो सोता झरेर फेरि त्यस्तै ठाडो उकालो चढेर बास बस्न पुगेका थियौँ । त्यति हिडदा कति पखेरा र खोल्सा नाघ्यौं होला के भन्न सक्नु र १
छिस्तिबुङमा झरेर चिया खाजा खायौं । त्यहाँबाट बनको बाटो हुदै सिधै खोलामा झ¥यौँ । निगालो घारी र बनको काखको बाटो हुदै सोता पुग्यौँ । म्याग्दी जिल्लाको सोता पुन मगरको बसोबास भएको सुन्दर गाउँ हो । माथिल्लो पहाडी क्षेत्र भए तापनि सोता पहाडको फेँदमा समथर ठाउँमा थपक्क बसेको छ । यहाँ करिब दई सय घर धुरी भए तापनि अहिले धेरैले बसाइ सरी पोखरातिर बसेका छन् । त्यस्तो हुदाहुदै पनि अन्यत्र जस्तो बारीका पाटा बाझो नदेख्दा बसाई सराइले उती सारो चेपेको जस्तो भने लागेन मलाई ।
चर्चित पदयात्राका गाउँमा मोटरबाटो पुगे पछि आजकल पर्यटकहरु चित्रेबाट सोता हुदै खोप्रा वा खोप्राबाट सोता
हुदै लेस्पार पुग्न थालेका छन् । त्यसले गर्दा गाउँमा दशैँ तिहारको बेला पर्यटकको चहल पहल बढेको छ । सोतामा ३–४ वटा
होटल छन् । यहाँ आलु, मकै, कोदो खेति गरिन्छ भने पशुपालनमा भेडा र भैसी प्रमुख हुन् । गाउँबाट धवलागिरि र निलगिरी हिमालको सुन्दर दृश्य
देखिन्छ ।
सोताका मानिसहरु सबै बारीमा काम गर्न ब्यस्त भएकाले हामी फेरि खोलामा झरेर चित्रे चढेर मात्र खाना खायौँ । त्यो साँझ हामी यो भेगको अति चर्चित ठाउँ घोडेपानीमा बस्यौँ । भोलीपल्ट विहान सुर्योदयको दृश्य हेर्न बिहानै पुन हिल पुग्यौँ । सन १९७० को दशकदेखिनै घोडेपानी पुनहिल पदयात्रा युरोप र अमेरिका मा ब्यापक चर्चित छ । अहिले भने कोरिया, चीनका पर्यटकको ताँती लाग्न थालेको छ । पोखरा बाग्लुङ सडक निर्माण भए पछि नयाँपुलबाट पदयात्रा शुरु गरि घान्द्रुक, टाढापानी, घोडेपानी हुदै नयाँपुलनै पुगेर सकिने यो
पदयात्रा उच्च हिमाली क्षेत्रको पदयात्रामा जान नसक्ने पर्यटकका बिच औधि प्रिय बन्यो ।
पर्यटकले मन पराउनुमा यस क्षेत्रका अति सुन्दर गुरुङ र मगर गाउँ, तिनको मौलिक र पुरानो संस्कृति, खेतिपाति, बनजंगल, खोला, पहाड, चराचुरुङ्गी र मन लोभ्याउने थुप्रै सेता हिमालनै हुन् । एक दशक पहिलेसम्म पुन हिलबाट दृश्यावलोकन गर्ने टावर बनाईएको थिएन । पुन हिल ९३२०० मि।० नै प्रकृति निर्मित टावर हो जहाँबाट चारैतिरको अति मनमोहक दृश्य देखिन्छ । यहाँको सबैभन्दा मुल आकर्षण भनेको एकै ठाउँमा उभिएर ८ हजार मिटरभन्दा अग्ला दुई हिमाल धवलागिरि प्रथम र अन्नपूर्ण प्रथम नजिकबाट देख्नु हो । यहाँबाट पश्चिमतर्फ हेर्दै जाँदा चुरे हिमाल र त्यसको उपत्यकादेखि शुरु भएको हिमश्रृङखलाको लामोधार गुर्जा हिमाल, धवलागिरि छैटौँ, चौथो, पाँचौँ, तेस्रो, दोस्रो, र प्रथम गरी टुकुचे चुली हुदै निलगिरीसम्म पुग्दछ । त्यसरीनै उत्तरतर्फ अन्नपूर्ण प्रथमको चुचुरो, अन्नपूर्ण दक्षिण, हिउँचुली र माछापुछे« हिमाल देखिन्छन् । पुर्वतर्फ अन्नपूर्णका अन्य श्रृङखला पनि उत्तीकै मनमोहक भएर काँधमाकाध मिलाएर उभिएका जस्ता देखिन्छन् ।
सुन्दरता हेरेर मन नअघाउदो रहेछ । म पुन हिलमा धेरै पटक पुगेँ । जति पटक पुगे पनि त्यहाँबाट देखिने दृश्य उत्तिकै प्यारो लाग्दो रहेछ । यसपटक पुसको दोस्रो साता किन नहोस त्यहाँ पर्यटकको भींड उत्तिकै थियो । भींडले गर्दा सुर्योदयको तश्विर लिन मलाई निकै दौडादौड प¥यो । पहिले विदेशी पर्यटकमात्र हुने गरेको घोडेपानी अहिले युवा नेपालीको पनि मुख्य गन्तब्य बनेको छ । त्यो बिहान पनि धवलागिरिलाई पृष्ठभूमिमा राखेर सेल्फी र समुह तश्वीर खिच्ने नेपाली युवा, प्रेमी प्रेमिकाको भीड देख्दा मलाई पनि निकै खुशि लाग्यो । म पहिलो पटक पुनहिल सन १९८३ को अक्टुवरमा पुगेको थिएँ ।
वेद, पुराण, महाभारत, स्वस्थानी लगायत थुप्रै धार्मिक ग्रन्थ र ब्रत कथाहरुमा हिमालयको कथा सुनेर मख्ख पर्ने नेपाली हामी हाम्रै हिमाल, पहाड, नदी, खोंच र तराईका फाँटमा अहिले पनि जीवित रहेका त्यस्तै महत्वका ठाउँ, संस्कृती र इतिहासबारे केहि वाश्ता गर्दैनौं । अति दुःखद विषय हो यो ।
पुनहिलकै दक्षिण धारको गोरेटो बाटो भएर धारैधार हामी मोहोरे डाँडातिर लाग्यौँ । दृश्यावलोकन गराउन पुनहिललाई चुनौति दिने अर्को विन्दु हो मोहोरे डाँडा । हामी पहाडको चुचुरै चुचुरा भएर हिडेको हुनाले हामीलाई छेक्ने दुस्साहस गर्ने कुनै अर्को पहाड वरपर थिएनन् । त्यसैले हाम्रो उत्तरमा अन्नपूर्णका सेतो हिउँले ढाकिएका हिमश्रृङखलाका चुचुरामात्र नदेखिएर हिमालको ठूलो भाग सहित अझ सुन्दर र अझ मनमोहक भएर देखिएका थिए । अन्नपूर्ण प्रथम वरपरका थुप्रै चुचुरा सेताम्मे देखिएका थिए । पुर्वोत्तरमा अन्नपूर्ण तेस्रोको विशालतम र सुन्दर रुप माछापुछे«को पछाडि देखिएको थियो जुन मैलै अन्यत्रबाट त्यस्तो ठूलो रुपमा देखेको थिइनँ । त्यसकोसंगै गन्धर्व चुली र गंगापुर्ण त थिएनै । अन्नपूर्ण दोस्रोको विशाल हिम पहाड त्यसको पुर्वमा देखिएको थियो भने सूर्यको विmरणले गर्दा मनास्लुलाई खुट्याउन सकेको थिइनँ । हिमाल बाहेक विरेठाँटि हुदै पोखरासम्मको उपत्यका र पन्चासेको चुचुरो प्रष्टसँग देखिएका थिए ।
त्यो एउटा पाटोको मैले वर्णन गरेँ भने हाम्रो दाहिने हात अर्थात पश्चिम तर्फ धवलागिरिको सर्वाङ्ग रुप छर्लङ्ग देखिएको थियो । त्यसमा थप आर्कषण के थियो भने कालीगण्डकीको उपत्यका सहित अतिसुन्दर गाउँहरु, जङजलको भागपनि त्यहाँबाट देखिन्थ्यो । हामी हिडेको धारको दुबैतिर सय फिटसम्म खरवारी र त्यसपछि गाउँसम्म फैलिएको लालीगुँरासको बाक्लो बन बडो घमण्डकासाथ बसेको थियो । मोहोरे डाँडाले साच्चिकै घमण्ड गर्न मिल्ने दृश्य त्यो डाँडा वरपरबाट पनि उत्तिकै सुन्दर रुपमा देखिन्थ्यो ।
त्यसबेला मलाई यस्तो लाग्यो कि मानौं म यो संसारको सवैभन्दा भाग्यमानी मानिस हुँ
। सम्झेँ, हिमालको दृश्य र वातावरण मन परेरनै त भगवान शिव पार्वतीलाई लिएर कैलाशमा बास वस्न पुगे । महाभारतमा उल्लेख भए
अनुसार कुवेरको सुनैसुनले बनेको विशालतम दरवार हिमालको काखमानै थियो । म पनि हिमालयको स्वाद लिन त्यसरीनै पर्वतको धारैधार आफ्नै धुन र सुरमा नाच्दै हिंडिरहेको थिएँ । मेरो उमङ्ग र नृत्यदेखेर मित्र मिठाराम र ज्ञानेन्द्रले पनि मलाई साथ दिएका थिए । मौसमको अर्शिवाद प्राप्त हामीले वाश्तवमा यो भुतलमा रहेको स्वर्गीय सुन्दरताको स्वर्गीय आनन्दमा हामी रमाएका थियौँ । त्यस्तो अवसर साँचो अर्थमा विरलैले पाउछन् । धन्य मोहोरे डाँडाले त्यो सुन्दरता र खुशियाली हामीलाई सह्दय पस्केको थियो ।
पुस महिनाको बिहानी घाममा पहाडको चुचुरोबाट हिडदा दक्षिण–पश्चिम,पश्चिम,उत्तरहुदै पुर्वसम्म फैलिएको लामो हिमालय श्रृङखला, उपत्यका, फाँट, जंगल र नदिनालाको दृश्य देख्दा जिउदै स्वर्ग को नपुग्ला र रु मानब पीडाको सम्पूर्ण अंश विर्सेर एक प्रकारले म प्रकृतिमा लिन भएको थिएँ । मानौ प्रकृतिले दिएको त्यो स्वर्गमा यो जिवात्मालाई त्यागेर त्यसैमा समाहित भएको होस
। शिवजीले हिमालय पर्वतमा शिव नृत्य देखाउदा प्रसन्न भएझै अत्यन्त प्रसन्न भएर हिडदा हिडदै हामी मोहोरे डाँडाको चुचुरोमा पुगेको थाहै भएन । यहाँबाट देखिने दश्यको बारेमा मैले पहिलेनै वर्णन गरि सकेको छु । पुर्वमा मनासलु र गणेश हिमालदेखि शुरु भएर पश्चिममा धवलागिरि र चुरे हिमालसम्मको लामो हिमालयको दृश्यका साथै मोहोरेको चुचुरोबाट देखिने थप दृश्य के भने यहाँबाट दक्षिणतिर पर्वत, बाग्लुङ र म्याग्दीका फाँट र सुन्दर गाउँहरु बडो मनमोहक रुपमा देखिन्छन । त्यसबाहेक सुर्योदय र सुर्यास्तको दृश्यको लागि पनि यो डाँडा उत्तिकै उपयुक्त छ ।
जङजलको चुचुरोमा रहेको मोहोरे डाँडा ९३३०० मि.मा दुईटा लज छन् । पुनहिलबाट दुई घण्टामा हामी मोहोरे डाँडामा पुगेका थियौँ । पर्वतको लेस्पारबाट जलजला हुँदै मोहोरे पुग्न एक दिन लाग्छ । त्यसरीनै मोहोरेबाट एकै दिनमा जलजला, लेस्पार हुदै पर्वतको पातीचौर पुग्न सकिन्छ । पोखरा नयाँपुलदेखि घोडोपानी हुदै मोहोरे डाँडामा तीन दिनमा पुग्न सकिन्छ । मोहोरेले प्रकृतिप्रेमीलाई पुनहिल वा मुल्देबाट भन्दा पनि सन्तुष्ट दिने भएकाले यो डाँडो आफै लेखनाथ पौड्यालको कविता– ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र रु’ भने जस्तो गरि हाउभाउ र हल्लाखोर नगरी अत्यन्त सम्यमित भएर जङगलको बिचमा बसेको छ । नेपालको पश्चिम क्षेत्रको हिमालय र उपत्यकाको चारैतिरको लामो भुभाग हेर्न नेपालकै अत्यन्त विशिष्ट र एकान्त ठाउँ हो –मोहोरे डाँडा ।
हिमालय पर्वतलाई साक्षी राखेर मोहोरे डाँडामा खाना खायौं । ङादी गाउँ जाने बाटो छोडेर र फेरि त्यस्तै धार, खरबारीका ठाडा भीर पार गर्दै जलजला भन्ने सानो उपत्यकामा झ¥यौं । त्यो जङगलको बिचमा रहेको छ । त्यहाँबाट बिरलै देखिने अन्नपूर्ण प्रथमको विहङ्गम चुचुरोमात्र अति सुन्दर रुपमा देखिएको थियो । त्यसपछि घना बनको बाटो हुदै
अत्यन्त सुन्दर र ठूलो पुन मगर गाउँ लेस्पार झ¥यौं ।
लेस्पार पर्वत जिल्लाको सदरमुकाम कुश्मादेखि उत्तर बन र ठूलो चट्टानको पाखोको बिच समथर ठाउँमा रहेको छ । यहाँ २०० भन्दा बढि ढुङ्गामाटोको जोडाई भएका तथा पातलो कालो ढुङ्गाले छाइएका परम्परागत नेपाली शैलीका घर रहेका छन । माथिदेखि तलसम्म गुजमुज्ज जोडीएर रहेका सबै घरमा ढुङ्गाले छाएका पाली, कौसी र दुवै छेउमा कोठा निकालिएका देखिन्छन् । पुरै गाउँको बाटोमा ढुङ्गाकै सिँढि लगाईएको छ भने बाटोको दुबैतिर अग्लो ढुङ्गाको बान्नो –गारो ० ले सुरक्षा दिईएको छ । सबैका घर पस्नका लागि ससाना छु«ट्टाछुट्टै ढुङ्गा ओच्छ्याईएका बाटोहरु रहेका छन् । गाउँ देख्दा जो कोहिलाई पनि आफ्नो पुरानो नेपालीपनको झल्को लाग्दछ ।
यहाँका बासिन्दाको मुख्य पेशा परम्परागत कृषिनै हो । यहाँ खेत कम छ भने बारीमा कोदो, मकै र आलु उत्पादन गरिन्छ । यहाँ सबै पुन मगरको बसोबास रहेको छ । पुन मगरको मुख्य भाषा नेपालीनै हो । धेरै पहिले बराजु, चिचाजुको पालादेखिनै खस बोल्ने गरेको, दशैँ
तिहार चाडपर्व मान्ने गरेको र जनै पुर्णिमाको दिन ससरा धारामा बोका कुखुराको बलि दिएर बाराहीको पुजा गर्ने गरेको डिल बहादुर पुनले जानकारी दिएका थिए ।
बाख्रालाई कोदोको नल र हरियो घाँस बोकेर घर फर्कदै गरेका ९२ वर्षका डिल बहादुर पुनसँग हाम्रो बाटोको बिसाउने ढुङ्गे चौपारीमा भेट भएको थियो । अनुहार भरी सयौं मुजा देखिने, ऊनको टोपी, ठूलो चश्मा पहिरेका हँसिला डिल बहादुरले धेरै दाजुभाइहरु कमाइ गर्दै बसाई सर्दै गरेको कुरा एक प्रसङ्गमा सुनाएका थिए । हामी खोप्रा खयर भारानी तालपुगेर खयर भारानीको दर्शन गरेर फर्केको जानकारी दिदा उनले अत्यन्त हर्षित हुदै भने – ‘मेरो भाकल थियो । त्यसैले त्यहाँ दुई पटक पुगेको छु । त्यहाँ भाकल गर्नाले मागेको कुरा पुरा हुन्छ ।’ लक्ष्मी होटलका खडक पुनले भने पछि थाह भयो । डिल बहादुरका छोरा विदेशबाट नफर्केको हुनाले उनले त्यहाँ पुगेर भाकल गरेका रहेछन् । पछि, छोरा फर्केर घर आए पछि फेरि उनी त्यहाँ भेडाको बलिदिन पुगेका रहेछन् । यस्तै विश्वासमा नेपाल टिकेको छ र सस्कृति बाँचेको छ ।
त्यो दिन हामी पातीचौर सम्म झर्न सक्ने थियौँ । तर लेस्पारमा एक रात बिताउने रहर जाग्यो र त्यहीँ बस्यौँ । पर्यटक अत्यन्त कम आउने भएकाले भरखरमात्र यहाँ होमस्टेको अवधारणामा दुई लज सञ्चालनमा छन् । यहाँको मौलिक संस्कृति भने चोखो रुपमा जीवित छ जुन यहाँको जीवनचर्याबाट छर्लङ्ग देख्न सकिन्छ । सात–आठ वर्षदेखि जीप आउन थालेपनि बाटोसुधार भएको छैन । दिनमा एउटा जिप सदरमुकाम कुश्माको लागि छुट्ने गर्छ । सदरमुकाम देखि नजिक भएर पनि विकासमा भने लेस्पारलाई पछाडि पारेको मैले अनुभव गरेँ । मौलिक पुन मगर संस्कृतिलाई जीवन्त राख्दै यहाँ पनि विकासको ढोका खोलिनु पर्छ ।
लेस्पारबाट देखिने लोभलाग्दो सुर्योदयले हाम्रो मनलाई तरङ्गित पार्दै थियो । त्यसैबेला पातीचौर जाने जीपको हर्नले हाम्रो लेस्पारको त्यो बेलाको यात्रा पुरा भएको संकेत दियो । हामी जीपमा बसेर त्यहाँका ससाना गाउँ हुदै पातीचौर झ¥यौँ । सोही दिन पोखरा पुगेर माइक्रोबस बाट यात्राको एघारौँ दिन काठमाण्डौँ पुग्यौँ । चिसो मौसममा गरिएको अन्नपूर्ण आधार शिविर र खोप्रा डाँडाको यात्रा अत्यन्त सफलताका साथ सम्पन्न भयो । केहि रात असह्य चिसो भएको भए तापनि सफा मौसममा देखिएको हिमालयको लामो श्रृङखला सहित देखिएको उपत्यका, नदि, पहाडका तरेलीदेखि तराईका फाँटसम्मको लोभलाग्दो दृश्यले हामी सबैलाई रोमाञ्चित पारेको थियो । नेपाल अति सुन्दर छ । सुन्दरता घरमा बसेर देखिदैन । त्यसैले अर्को यात्रामा मसँग साथीहरु पनि आउनु न है Û
साभार – रचना साहित्यिक पत्रिका पूर्णाङ्ग बैशाख–जेठ २०७५
