Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1297




पर्वतमा आयोजनाका काम शुरू, कामदार र निर्माण सामग्री अभाव
पर्वतमा आयोजनाका काम शुरू, कामदार र निर्माण सामग्री अभाव

बैशाख २१, पर्वत ।  पर्वतमा सडक, जलविद्युत्, खानेपानी र सिँचाइका योजना शुरू भएका छन् । कोरोना त्राससँगै लकडाउनले रोकिएका विकास निर्माणका काम शुरू भएका हुन् । राष्ट्रिय गौरवको मध्यपहाडी र कालीगण्डकी लोकमार्ग, कालीगण्डकी करिडोर प्रसारण लाइन, नयाँ मोदी–लेखनाथ प्रसारण लाइन, मध्यमोदी र तल्लोमोदी जलविद्युत् आयोजनाको बाँकी काम शुरू भएको सम्बन्धित आयोजनाले जानकारी दिएका छन् ।

 

 मध्यपहाडी लोकमार्गको पर्वत खण्डको २४ किलोमिटर खण्डमा कालोपत्रको संरचना तयार पार्न थालिएको छ । लोकमार्ग आयोजना कार्यालय प्रमुख आशिष थापा मगरले अहिले ७० जना कामदार काममा खटिएको बताए । ‘करिव डेढ सय कामदार घर फर्किएका छन्,’ थापा मगरले भने, ‘कामदार नहुँदा सानातिना काम मात्रै गर्दै छौँ ।’ आगामी असार सम्म काम सक्नुपर्ने दायित्व रहेको आयोजनालाई निर्माण सामाग्रीको पनि अभाव छ । सहज रुपमा ढुवानी गर्न नपाउँदा आवश्यक सामाग्रीको अभाव रहेको थापामगरले बताए । 

कालीगण्डकी करिडोरको ५५ किलोमिटर पर्वत खण्डमा पुल निर्माण, नाली निर्माण र १२ किलोमिटरमा ट्रयाक खोल्ने काम शुरु भएको छ । आयोजना कार्यालय पाल्पाका प्रमुख नगेन्द्र सुबेदीले भने,‘ रोकिएको काम शुरु भएपनि फुलफेजमा काम गर्न सकिएको छैन । काम शुरु भयो भने पनि कामदार छैनन भने निर्माण सामाग्री पनि हामी संग स्टक छैन ।’

 

कालीगण्डकी करिडोर प्रसारण लाईनको खुर्कोट सवस्टेशन भित्रको कामदारहरुले मेकानिकल काम शुरु गरेका आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । आयोजना स्थलमै कामदारलाई राखेर काममा खटाएको घोषले बताए । उनले सवस्टेशनमा ३४ जना कामदार खटिएको र पोखरेबगर र खुर्कोटमा तार तान्ने काममा १७ जना कामदार खटिएको जानकारी दिए । कालीगण्डकी करिडोर प्रसारण लाईनमा निर्माण सामाग्री र कामदार अभाव नरहेको उनले जानकारी दिए ।

 

पूर्वाधार विकास कार्यालय मार्फत १४ वटा ग्रामीण सडकको कालोपत्र र स्तरउन्नती गर्ने काम बिचमै रोकिएको थियो । कार्यालय प्रमुख दयाराम अधिकारीका अनुसार उपलब्ध कामदार र निर्माण सामाग्रीको अभावका बिचमा काम शुरु गरिएको छ । तर, कामदारको अभावले पूर्ण रुपमा काम सुचारु हुन नसकेको अधिकारीले बताए । अधिकारीले भने, ‘ सडकमा काम गर्ने मजदूर सबै वाहिरी जिल्लाका हुन् । सबै घर फर्किएका छन् । उनीहरुलाई ल्याउन संभव छैन ।’ सडक विस्तारको काम कोरोनाले पूर्ण रुपमा प्रभावित भएको उनले बताए ।

 

पूर्वाधार विकास कार्यालयले चैत अन्तिम साता र बैशाख पहिलो साता आव्हान गरेको टेण्डरको म्याद थप्ने तयारी गरेको अधिकारीले जानकारी दिए । जिल्लामा दुई वटा गौरवका सडक सहित आधा दर्जन प्राथमिकता प्राप्त आयोजना छन् । मध्यमोदी र तल्लोमोदी जलविद्युत आयोजना निर्माणाधिन छन् । सबै आयोजनाको मुख्य समस्या कामदार र निर्माण सामाग्रीको अभाव हो ।

 

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले विभिन्न ६ वटा सर्तमा काम गर्ने अनुमती दिईएको जानकारी दिईन । आयोजना स्थलमै कामदारलाई बस्ने खाने , कार्यस्थल छोडेर वाहिर नजाने, कार्यास्थलमा नियमित स्वास्थ्य परिक्षण लगायत कार्यास्थलमा एम्वुलेन्सको व्यवस्था गरि काम शुरु गर्न प्रसासनले अनुमती दिएको प्रजिअ नेपालले बताईन् । निर्माण सामाग्रीको ढुवानीमा प्रसासनले सहजीकरण गर्ने पनि नेपालले जानकारी दिएकी छिन् । तर, आयोजना पक्षले भने सामाग्री ढुवानीका लागि प्रसासनले पासको व्यवस्था नगरेकोे गुनासो गरेका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)