Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1259




मध्यपहाडी लोकमार्ग निर्माण अन्तर्गत पर्वत खण्डमा पुन : सुचारु
मध्यपहाडी लोकमार्ग निर्माण अन्तर्गत पर्वत खण्डमा पुन : सुचारु

बैशाख २४, पर्वत । पर्वत,बागलुङ, रुकुम पश्चिम — मध्यपहाडी लोकमार्ग आयोजनाको पर्वत खण्ड विस्तारको काम करिब डेढ महिनापछि पुनस् सुरु भएको छ । चैत ९ यता रोकिएको काम गत मंगलबारदेखि सुरु भएको आयोजना कार्यालयले जनाएको छ । लकडाउन लम्बिँदै गएपछि त्यसको असर थेग्न नसकेर लोकमार्गको काम अघि बढाइएको कार्यालयको भनाइ छ ।

 

 

करिब ७५ जना कामदार लगाएर काम अघि बढाइएको हो । लकडाउनका कारण घर जान नसकेका मजदुर परिचालन गरेर कुस्मा र आसपासको क्षेत्रमा काम अघि बढाइएको कार्यालयका प्रमुख आशिष थापामगरले बताए । काममा शारीरिक दूरी भने कायम गरिएको छ । सवारीसाधन नचलेकाले पर्वत खण्डमा सबैभन्दा जटिल मानिएको चुवाको पहरो फुटाउने कामलाई तीव्रता दिइएको छ । चैत १ देखि सेनाको सहयोगमा विस्फोट गराउन सुरु गरिएको चट्टानको काम लकडाउनपछि ठप्प थियो ।

 

कोभिड–१९ रोकथाम उच्चस्तरीय समितिले राष्ट्रिय गौरवका आयोजनामा शारीरिक दूरी कायम गरेर निर्माणस्थलमै उपलब्ध मजदुर परिचालन गरी काम गर्ने निर्णय गरेपछि आयोजनाको काम अघि बढाउन बाटो खुलेको हो । कुस्मा, खरेहा, चुवालगायत स्थानमा सडक चौडा, नाली, कल्भर्ट निर्माणलगायत काम अघि बढाइएको छ । ‘सम्भव भएसम्म बाहिरबाट कामदार नल्याउने, निर्माणस्थलमा भएका र घर फर्किन नपाएका मजदुरलाई ल्याएर काम गर्न लगाउने निर्देशन थियो,’ थापामगरले भने, ‘सोहीअनुसार काम थालेका हौं ।’

 

आगामी भदौ ३० सम्म सक्ने गरी पर्वत खण्ड विस्तारको जिम्मा लिएको लामा कन्स्ट्रक्सनले तोकिएकै समयमा काम सक्ने गरी पछिल्लो समय करिब ९ सय कामदार परिचालन गरेको कन्स्ट्रक्सनका प्रबन्धक गोविन्द भुसालले बताए । वैशाख २५ पछि पनि कामलाई निरन्तरता दिनसके असारसम्म पर्वत खण्डको सबैजसो सडक कालोपत्र सकिने थापा मगरको दाबी छ ।साभारः कान्तिपुर दैनिकवाट

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)