Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1647




गण्डकी प्रदेशको अनुगमन : पर्वत उत्कृष्ट म्याग्दी मापदण्ड विपरीत
गण्डकी प्रदेशको अनुगमन : पर्वत  उत्कृष्ट म्याग्दी मापदण्ड विपरीत

बैशाख २७, पर्वत । उपभोक्ता मञ्च गण्डकी प्रदेशले लकडाउनको समयमा प्रदेशका विभिन्न बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रदेशभरिमै पर्वतको बजार उत्कृष्ट देखिएको र म्याग्दीको बेनी बजार मापदण्डविपरीत पाइएको मञ्चका प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

 

‘प्रदेशका ९ वटा जिल्लाका बजार घुम्दा पर्वतको बजार सबैभन्दा राम्रो देखियो । पर्वतको बजार पोखराभन्दा व्यवस्थित चलेको पाइयो,’ कोइरालाले भने, ‘म्याग्दीको बेनीबजार भने डामाडोल र अव्यवस्थित छ ।’ उनले बेनी बजारका प्रायः पसलमा कुनैमा मिति गुज्रिसकेको त कुनैमा मिति नै उल्लेख नभएको पाइएको बताए ।

 

अन्य ठाउँमा वस्तु पसलसम्म पुग्दा म्याद गुज्रेको पाइए पनि बेनीको बजारमा मुख्य गोदाममै मापदण्ड विपरीत सामान पाइएको कोइरालाले बताए । ‘मुख्य गोदाममै सामानहरु मापदण्डविपरीत पाइनु चिन्ताको विषय हो । त्यहाँका उपभोक्ता नै सचेत हुने बेला आएको छ,’ उनले भने । कोरोना लकडाउनका कारण अहिले सामानको गुणस्तरताभन्दा पनि सहज प्राप्ति भएकाले व्यवसायीले मनोमानी गरेको कोइरालाले बताए ।

 

‘बजारका सामान गुणस्तर कसरी व्यवस्थित राख्ने भन्नेमा प्रशासनको मात्रै नभएर स्थानीय जनप्रतिनिधिको पनि भूमिका हुन्छ,’ उनले भने, ‘तर, बेनीमा स्थानीय जनप्रतिनिधिले पनि बेवास्ता गरेको पाइयो ।’ मापदण्डविपरीत पाइएका पसल कारबाहीका लागि स्थानीय प्रशासन र जिल्ला अनुमगन समितिलाई आग्रह गरिसकेको कोइरालाले बताए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)