Correspondent, ParbatNepal
7 years ago
1793
रोशन तिवारी, पुष ४ पर्वत । पर्वतको महाशिला गाउँपालिकाले ३ सय ६६ जना यूवालाई रोजगारी दिएको छ । गाउँपालिकाले उनीहरुलाई मासिक तलव दिने गरि विकास निर्माणका काममा खटाएको हो । ‘एक घर एक रोजगार’ कार्यक्रम अन्तर्गत गाउँपालिकाले यूवाहरुलाई गाउँमै रोजगारी दिएको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले भर्ती भएकाहरुले १५ दिन गाउँपालिकाले खटाएको काम गर्नुपर्नेछ भने १५ दिन घरमै उत्पादनशिल काम गर्नुपर्नेछ । पन्ध्र दिन काम गरेको मासिक ६ हजार रुपैयाँ तलव दिईने छ । पौडेलका अनुसार सडक मर्मत गर्न, शिक्षण, सुरक्षा, कृषि, सरसफाई जस्ता काममा उनीहरु परिचालन हुनेछन् । सबैभन्दा बढी २ सय २० जनालाई सडकमा खटाइएको छ ।
२० जनालाई शिक्षक स्वंयमसेवक बनाइएको छ भने २७ जनालाई बिद्यालय स्वयसेवक बनाएर गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा मन्टेश्वरी पढाउने शिक्षकको रुपमा खटाउने भएको छ। गाउँ प्रहरीको रुपमा ३४ जनालाई गाउँरक्षक स्वयमसेवकको रुपमा रोजगारी दिइएको छ । यस्तै १० जना बिद्युत स्वयंसेवक, १० जना प्लम्बर, ५ जना सहकारी स्वयसेवक, ११÷११ जना कृषि र पशु स्वास्थय स्वयंसेवक, जनस्वास्थ्य स्वयंसेवक ५ जना, सामाजिक परिचालक ६ जनालाई रोजगारी दिइएको छ ।
महाशिला गाउँपालिकामा २ हजार २ सयबढी परिवार बसोबास गर्दै आएकोमा झण्डै एक हजार परिवार बेरोजगार रहेको गाउँपालिकाले अनुमान गरेको छ । सबै घरमा एकैपटक कार्यक्रम सुरु गर्न नसकेपनि अहिले ३ सय ६६ जनाबाट शुरु गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम ठकुरीले जानकारी दिनुभयो ।
