Correspondent, ParbatNepal
7 years ago
1608
पुष ८, पर्वत । पर्वतको वडागाउँ सामूदायिक बन क्षेत्रमा बनभोजस्थल बनाउन थालिएको छ । कुश्मा नगरपालिका ५ स्थित उक्त सामूदायिक बन क्षेत्रमा बनभोज स्थल बनाउन अहिले बनका पात पतिगंर पन्छाउन थालिएको छ ।
बडागाउँ सामूदायिक बन उपभोक्ता समितिको सक्रियतामा बनभोजस्थल बनाउन थालिएको हो । नेपालकै अग्ला पुलको छेउमा रहेको बनले ढाकेको क्षेत्रलाई खुल्ला बनाएर बनभोज स्थल बनाउन उपभोक्ता समितिले जाँगर देखाएको हो । पुल हेर्न दैनिक दुई सयको हाराहारीमा पर्यटकहरु आउने गरेका छन् । हिउँदको समयमा बनभोज खानेहरुको पनि लर्को लाग्ने गरेको छ ।
बडागाउँ–कैया र बडगाउँ– सिर्सुवा झोलुङ्गेपुल यहि बनको नजिकै रहेका छन् । पुल तरेर अधिकाँश पिकनिक खान पारीका खाली चौर खोज्दै जाने गरेका छन् । सामूदायिक बनले वारीतर्फ नै रमाउने ठाउँ बनाउन बनभोज स्थल संगै पार्क बनाउने योजना समेत बनाएको छ । त्यस्तै पार्किङ स्थलमा देबीको मुर्ती बनाएर पर्यटकहरुलाई आकर्षित गर्ने योजना रहेको बडागाउँ सामूदायिक बन उपभोक्ता समितिका अध्यक्ष मानकुमारी गिरीले जानकारी दिनुभयो ।
बन अहिले स– साना रुख र पात पतिगंरले ढाकिएको छ । अध्यक्ष गिरीका अनुसार बिगत १५ दिनदेखि साना–साना रुख फाड्न र पात पतिगंर हटाउन थालिएको छ । बन क्षेत्रको २८ हेक्टर क्षेत्रफललाई समेटेर बनभोज स्थल, पार्किङ र शिवमुर्ती राख्ने कार्यक्रम रहेको बनका पूर्व अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिनुभयो । सबै पूर्वाधार निर्माण गर्न करिव ३० लाख खर्च लाग्ने अनुमान छ ।
खर्चको जोहो नभएपनि स्थानीय सरकारले सहयोगको आश्वसन दिएको शर्माले बताउनुभयो । २०४० सालसम्म खाली रहेको बडागाउँको चौर सल्ला रोपेपछि घना जंगलले ढाकिएको छ । बनबाट खासै आम्दानी नभएपछि उपभोक्ताहरु बनलाई आम्दानीको स्रोत बनाउने हेतुले विभिन्न पूर्वाधार निर्माणमा जुटेको बताउँछन् ।
