Correspondent, ParbatNepal
7 years ago
1787
रोशन तिवारी, पर्वत । भाडामा बस्दै आएको फलेवास नगरपालिकाले आजदेखि सार्वजनिक भवनबाट सेवा दिन शुरु गरेको छ । फलेवास सिंचाई आयोजनाको प्रयोग विहिन भवनलाई मर्मत गरि नगरपालिकाले आफ्नो कार्यालय बनाएर सेवा शुरु गरेको हो ।
मोती सामुदायिक पुस्तकालयको भवनमा ३ वटा कोठा भाडामा लिएर कार्यालय संचालन हुँदै आएको कार्यालय नयाँ ठाउँमा संचालन पछि सेवाग्राहीलाई समेत सहज हुने भएको छ । साँघुरो कोठाबाट कार्यालय संचालन गर्दा व्यवस्थापनमा समस्या भएकाले फलेवास सिंचाई आयोजनाको भवनलाई प्रयोग गरिएको नगर प्रमुख पदमपाणी शर्माले बताउनुभयो ।
नगरपालिका भित्रै सार्वजनिक सम्पत्ती प्रयोग विहिन भएकाले आँफूहरुले प्रयोग गरिएको उहाँको भनाई छ । मर्मत हुन नसक्दा जीर्ण बनेको भवनलाई नगरपालिकाले मर्मत गरि प्रयोगमा ल्याएको शर्माले बताउनुभयो । भाडामा लिएको घरमा विभिन्न शाखा र तिनमा कार्यरत कर्मचारीहरुलाई एउटा टेवल समेत दिन नसक्दा सेवा प्रवाहमा समस्या हुँदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोतिराम सापकोटाले बताउनुभयो ।
उक्त भवनमा १२ कोठा सहित १ बैठक हल व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । सोही ठाउँमा खाली जग्गा समेत भएकाले कोठा अपुग भएमा थप अस्थायी संचरना बनाउन सकिने उहाँको भनाई छ । हाल बैकल्पिक व्यवस्थाका लागि उक्त भवन प्रयोग गरिएको र उपयुक्त ठाउँ छनौट गरेर कार्यालय बनाउन समेत कार्यपालिकाले खोजी गरिरहेको फलेवास नगर कार्यपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो । अन्य पालिकाका कार्यालयहरु भाडामा संचालन हुँदै आएका छन् ।
