Correspondent, ParbatNepal
7 years ago
1834
जेठ १८, पर्वत । कुश्मा नगरपालिका वडा नं ४ का महिलाहरुको सशक्तिकरण तथा क्षमता विकास गर्ने उदेश्यले वडा कार्यालयको आयोजनामा तीनदिने उद्घोषण तथा भाषणकला तालीम बिहिवारदेखि कुश्मामा शुरु भएको छ ।
तालीमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले महिलाहरुको क्षमता विकासका लागि उद्घोषण तथा भाषणकला तालीम महत्वपूर्ण हुने वताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी लामिछानेले नगरपालिका भित्रका हरेक महिलाहरुलाई विभिन्न तालीमको माध्यमबाट सशक्तिकरण गर्दै सामुदायिक विकासका हरेक अभियानहरुमा अग्रसर गराउने प्रतिवद्धता जनाउनु भयो ।
उपप्रमुख लामिछानेले भाषणकला र उद्घोषण तालीम अब सबैका लागि अपरिहार्य भएको वताउँदै तालीममा सिकेको सीपलाई व्यवहारिक र जीवनपयोगी बनाउन सहभागी सबै महिलाहरुलाई सुझाव दिनुभयो । कार्यक्रममा तालीमका प्रमुख प्रशिक्षक तथा रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले कुशल वक्ता र सफल उद्घोषक हुन तीनदिनको तालीम मात्र प्रयाप्त नभएको भन्दै तालीमले उद्घोषण र भाषणकलाको आधारभूत ज्ञान प्रदान गर्ने जानाकारी दिनुभयो ।
घायलले वाककला नेतृत्व र व्यक्तित्व विकासको पहिलो सूचक भएकोले आफ्नो अभिव्यक्तिकलालाई प्रभावकारी बनाउन यो तालीम महत्वपूर्ण भएको दावी गर्नुभयो । कुश्मा नगरपालिका वडा नं ४ का वडाअध्यक्ष मिना कर्माचार्यको सभापतित्वमा भएको उक्त तालीमको उद्घाटन सत्रको संचालन वडासचिव जगत जोशीले गर्नुभएको थियोभने कार्यक्रमका स्वागत मन्तव्य वडासदस्य टेकनारायण श्रेष्ठले राख्नुभएको थियो ।
यही जेठ १९ गतेसम्म संचालन हुने उक्त तालीममा वडाभित्रका २५ जना महिलाहरु सहभागी हुनुहुन्छ ।
