Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1791




टोलटोलमा योजना छनौटको चटारो
टोलटोलमा योजना छनौटको चटारो


रोशन तिवारी जेठ ३० पर्वत । कुश्मानगरपालिका ९ का वडाध्यक्ष कृष्णप्रसाद लामिछाने यतिबेला बेफुर्सदी छन् । बस्ती स्तरका योजना छनौटका लागि उनी घरघरै पुग्ने गरेका छन् । त्यहि भएर लामिछानेलाई जतिबेला पनि आत्तुरी नै छ । वडाध्यक्ष मात्रै हैन वडासदस्य र सर्वसाधारणहरु पनि यो बेला योजना छनौटको चटारोमा छन् । कुश्मा ८ चुवामा पनि दैलो दैलोमा योजनाको माग फारम बोकेर जनप्रतिनिधी पुगिरहेको देख्न सकिन्छ । अहिले नगरपालिकाका सबै १४ वटै वडामा योजना छनौट गर्न टोलटोलमा भेला र छलफल भैरहेका छन् । 


नगरपालिकाले असार १० गते भित्रै नगरसभा गर्दै छ । नगरसभा अगाडी सबै वडाका योजना संकलन गरेर प्राथमिकिकरण गर्नुपर्ने बाध्यताका कारण वडाका प्रतिनिधी र सर्वसाधारणहरु घरको सबै काम छोडेर पनि योजना छनौटमा जुटेका हुन् । 

बिगतमा कोठामा बसेर योजना छनौट गर्ने गरिएको गुनासो व्यापक आउँथ्यो । यसपाली जनप्रतिनिधी आएपछि आफैँले आफ्ना योजना छान्ने अवसर पाएकोमा नगरबासीहरु दंग छन् । ‘कहिले योजना छनौट हुन्थे ? कस्ता हुन्थे ? हामीलाई थाहै हुन्थेन,’ कुश्मा १२ का शारदा लामिछानेले भनिन्,‘ महिलालाई झनै सहभागी नै हुन दिईन्थेन ।’ बल्ल अहिले आएर दैलोमा सरकार आएको अनुभूती भएको लामिछानेले बताईन् । लामिछानेले महिलाहरुलाई आयआर्जन गर्ने योजना टिपाएकोले आफ्नो योजना पुरा हुनेमा आशा व्यक्त गरिन् । दैलोदैलोमा योजना टिप्न जनप्रतिनिधी आएपछि जनसहभागितात्मक योजना छनौट हुने अपेक्षा गरिएको छ ।

सर्वसाधारणहरुले सडकको सुधार, आयाआर्जन, घाट र चौतारो सुधार, महिला समूहको भवन, तालिम, बिजुलीको पोल र तार, खानेपानीको पाईप, सडकबत्ती जस्ता योजनाको माग गर्ने गरेका छन् । ठूला योजना केन्द्र र प्रदेशले सम्बोधन गर्ने कुरा जनप्रतिनिधीले बुझाएका कारण साना योजनाहरु बस्ती स्तरबाट संकलन भैरहेको कुश्मा ८ का वडा सदस्य सीता समुन्द्रियाले बताईन् । ‘हाम्रो टोलमा प्राय दलित बस्ती छ,’ समुन्द्रियाले भनिन्,‘ यहाँ दलित समूदायका महिलाहरुले सिलाई कटाई तालिमको माग गर्नुभएको छ ।’ पहिलो पटक योजना छनौटमा टोलका दलित महिलाले योजना माग गरेको उनको अनुभव छ ।

टोल टोलमा देखिएका समस्या र सर्वसाधारणहरुका योजनालाई समाबेश गर्ने मनसायले नगरपालिकाका वडाहरुमा योजना छनौट भैरहेको नगरप्रमुख रामचन्द्र जोशीले बताए । जनताका आवश्यकतालाई महसुस गरेर योजना कार्यान्वयन गर्नुपर्छ भन्ने सोचेर अनिवार्य रुपमा बस्ती स्तरमै पुगेर योजना ल्याउन नगर कार्यपालिकाले उर्दी लगाएको जोशीले बताए । ‘अघिल्लो वर्ष अलमलमै परियो,’ उनले भने, ‘ १ वर्षको अवधिमा धेरै सिकाइ भयो । यसपाली सिँहदरवार गाउँगाउँमा भन्ने अनुभूति हुनेगरी जाँदै छौं ।’ नगरसभाको तयारीका लागि १४ वटै वडाका अध्यक्ष, सदस्य, नगरसभाका पदाधिकारी सबैसँग छलफल गरी योजना माग गरिएको जोशीले बताए ।

कुश्मानगरपालिकाका वडाहरुमा आगामी आर्थिक बर्षका लागि संघीय सरकारले ४६ करोड १६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । बजेटको सीमा हेरेर योजना छनौट गर्ने कार्यापालिकाले निर्णय गरेको छ । एउटा वडामा ३० लाख सम्म बजेट जाने अनुमान गरेर त्यसै अनुसार सम्बोधन हुने खालका योजना छनौट हुने जनाइएको छ । 


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)